काठमाडौं । विभिन्न परियोजनाको ठेक्काको अनलाइन प्रणालीको विवरण नै हेरफेर गरेको आरोपमा सुनसरीको दुहबीका जीवनकुमार दास सहित ६ जना पक्राउ परेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणालीमा अनाधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको उजुरीको आधारमा ६ जनालाई विभिन्न समय र स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साइबर ब्युरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा उजुरी परेको थियो । प्रारम्भिक अनुसन्धानमा उनीहरूले ठेक्कापट्टाको आर्थिक प्रस्ताव खोल्नुअघि नै त्यससम्बन्धी कागजातहरू परिवर्तन गरी मिलेमतो गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा धनकुटा पाख्रीबासका ३३ वर्षीय दिवाकर देउजा, बझाङ दुर्गाथलीका २५ वर्षीय भरत धामी, तनहुँ बन्दीपुरका ३९ वर्षीय संजय भट्ट, काठमाडौँको बानेश्वरका ३५ वर्षीय भाष्कर राज अर्याल, मकवानपुरका ४० वर्षीय सागर कटुवाल र सुनसरी दुहबीका ६२ वर्षीय जीवन कुमार दास रहेका छन् ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ । उनीहरूमाथि संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।