इटहरी : सुनसरीको धरान ६ पानवारीस्थित पाँचकन्या जङ्गलमा मृत भेटिएकी चुनकुमारी बुढाथोकीको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनको हत्यामा आफन्त नै संलग्न छन् ।
प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा मृतकको देवर, देवरको श्रीमती, नन्द र एक सहयोगी छन् । उनीहरूलाई प्रहरीले भाग्ने क्रममा बिहीबार राती झापा र मोरङबाट पक्राउ गरेको हो । घटनामा अन्यको पनि संलग्नता हुन सक्ने आधारमा थप अनुसन्धान भइरहेको जनाइएको छ । पक्राउ परेकाहरूको नाम र घटना विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने भएको छ ।
प्रहरी स्रोतका अनुसार चुनकुमारीलाई फकाएर सो जङ्गल क्षेत्रमा पुराएर हत्या गरिएको अनुसन्धानबाट खुलेको छ । चुनकुमारीको गत चैत्र २५ गते सोमबार पाँचकन्या जङ्गलमा शव फेला परेको थियो । उनको घाटी र शरीरका अन्य भागमा चोट देखिएको थियो ।
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं १ माइतीघर र वडा नं २ श्रीमान्को घर भएकी चुनकुमारी इटहरीको हलगडामा डेरामा बसेर छोरा पढाइरहेका थिइन् । तर उनको शव सोमबार धरान ६ स्थित पाँचकन्या जङ्गलमा भेटिएको थियो । उनका आफन्तजनहरूले बुधवार राती मात्र प्रहरीको सम्पर्कमा आएर शवको सनाखत गरेका थिए ।