राजनीति

सुनसरी ३ मा भगवती चौधरी आफ्नो जित दोहोर्‍याउने प्रयास - बिजय गच्छदार गुमेको विरासत फर्काउने दाउ

hello
सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर-३ थारू समुदायको बाहुल्य क्षेत्र हो । यो क्षेत्रमा विशेष गरी थारू नेताहरूबीच नै चुनावी भिडन्त हुँदै आइरहेको छ । यो पटक पनि थारू समुदायकै पुराना नेताहरू चुनावी प्रतिस्पर्धामा छन् ।

यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौं पटक चुनावी मैदानमा छन् । विजय गच्छदारसँग टक्कर दिन नेकपा एमालेले पनि थारू समुदायबाटै भगवती चौधरीलाई उम्मेदवार बनाएको छ ।  विजय गच्छदार र भगवती चौधरीबीचको यो प्रतिस्पर्धा चौथो पटक हो । यो क्षेत्रबाट २३ जनाले उम्मेदवारी दिए पनि गच्छदार र भगवतीबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट  अशोक चौधरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट दुर्गेश चौधरी, श्रम संस्कृति पार्टीबाट  रामप्रसाद सदा, समावेशी समाजवादी पार्टी  नेपालबाट किशोरकुमार विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट घनश्याम गुरुङ लगायत विभिन्न पार्टीका उम्मेदवार र स्वतन्त्र  उम्मेदवार चुनावी मैदानमा छन् ।

गच्छदारले २०४८ सालदेखि २०७४ सम्म एकछत्र राज गरेको यस क्षेत्रमा २०७९ सालको संसदीय निर्वाचनमा भने भगवती चौधरीले बाजी मारेकी थिइन् । गच्छदारको तीन दशक लामो राजनीतिक विरासत भत्काउँदै भगवतीले जितेकी थिइन् । तर जेनजी आन्दोलनपछि संसद् विघटन भयो । उनले कार्यकाल पूरा गर्न पाइनन् । भगवती फेरि आफ्नो जित दोहोर्‍याउने प्रयासमा छिन् । गच्छदार भने गुमेको विरासत फर्काउने दाउमा छन् ।

१२ पटकसम्म मन्त्री भएका गच्छदारले आफ्नो क्षेत्रमा विकास गरेको दाबी गर्दै आएका छन् । शिक्षा, स्वास्थ्य, यातायात, कृषिमा आमूल परिवर्तन गर्ने बाचा दोहोर्‍याउँदै उनी मतदाताको घरदैलोमा पुगिरहेका छन् । मतदाताहरू भने आफ्नो क्षेत्रबाट प्रभावशाली नेतालाई जिताएर पठाए पनि देखिने गरी विकासको काम गर्न गच्छदार चुकेको गुनासो गरिरहेका छन् ।

बर्जुका स्थानीय खड्ग उरावकाअुनसार गच्छदारले यही क्षेत्रबाट पटक-पटक जितेर धेरैपटक मन्त्री, उपप्रधानमन्त्री भए, मानसम्मान कमाए । तर उनले जनतामाझ गरेका प्रतिबद्धता कहिलै पूरा नगरेको गुनासो उरावको छ । सडक सञ्जालहरूको अवस्था नाजुक रहेको उनको गुनासो छ । उनी भन्छन्, ‘सामुदायिक स्कुलका अवस्था पनि बेहाल छन् । सुनसरी-मोरङ सिँचाइ आयोजना अन्तर्गतको नहरका शाखाहरू विस्तार भए पनि किसानहरूले धान, मकै र गहुँ उत्पादनका लागि सहजै पानी, मल र बीउ पाउन सकेका छैनन् । मुलुकको सबैभन्दा बढी धान, मकै गहुँ, आलु, उत्पादन हुने कृषियोग्य भूमि यस क्षेत्रमा भए पनि किसानका लागि दिर्घकालीन योजनाहरू गच्छदारले पूरा नगरेको उनको गुनासो छ ।

गच्छदार कांग्रेस छाडेर कहिले मधेशी जनाधिकार फोरमका नेता भए २०७० मा फोरम फुटेपछि लोकतान्त्रिक जनाधिकार फोरमका नेता बने । फोरमबाट २०७० सालमा उनले चुनाव लडे, यो चुनावमा पनि उनले जिते । २०७४ सालमा भने उनी पुरानै राजनीतिक घर कांग्रेसमा फर्किए । २०७४ को चुनावमा पनि उनको प्रतिस्पर्धी भगवती नै थिइन् । यो पटक पनि उनले अत्यन्तै झिनो मतले जित हात पारे ।

तर २०७९ सालको चुनावमा भने उनी ५ हजार मत अन्तरले भगवतीसँग पराजित भए । गच्छदारको कमजोरीलाई समातेर भगवतीले जित हात पारेकी थिइन् । आफूले पूरा कार्यकाल काम गर्न नपाएका कारण मतदाताको चहाना अनुसार विकास निर्माणका काम गर्न नपाएको उनी बताउँछिन् ।

आफूले यस क्षेत्रको विकास र स्थायित्वका लागि गरिब जनताकालागी २७५ सय घर बनाउन सफल भएकोले  थप ४ सय घर बनाउने योजना रहेको भगवती चौधरीले बताइन् ।
पूर्वाधार, सडक, खानेपानी, गुणस्तरीय शिक्षाकालागी स्कुल , ज्येष्ठ नागरिक, महिला, बालबालिका र स्वास्थ्य लगायत क्षेत्रको विषय सरकारको योजनामा दिगो विकास धेरै पुर्‍याउन सफल भएको भगवती चौधरीको दाबी छ ।